थप लोडशेडिंगले उद्योग चौपट हुने व्यापारीहरूको चिन्ता नेपाल विद्युत प्राधिकरणले बिहीवारदेखि लागु गरेको दैनिक १०-घण्टे लोड शेडिंगले उद्योगहरुको उत्पादन क्षमता ८० प्रतिशतले घट्ने व्यापारीहरुले बताएका छन्।
लोडशेडींको नयाँ तालिका हेरेर निराश बनेका निजी क्षेत्रका व्यापारीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले यसले औद्योगिक उत्पादनमा ठूलो गिरावट हुने चेतावनी दिएका छन्।
“तालिकानै यस्तो बनाएको छ कि दिउँसोको समयमा र त्यो पनि पटक पटक गरेर बिजुली जान्छ। यसले गर्दा उद्योगहरुको उत्पादन क्षमता ८० प्रतिशतले घट्ने छ,” उनले बताए।
हप्तामा ४५ घण्टा बिजुली गइरहेकोमा व्यापारीहरुले जसोतसो काम चलाइरहेका थिए। तर अब काम चलाउन निकै गाह्रो हुने चिन्ता व्यापारीहरूको छ।
गोल्छा अर्गनाइजेशनका प्रमुख दिवाकर गोल्छाले भने, “उद्योगहरुमा जेनेरेटरहरु त हुन्छन् तर १० घण्टासम्म धान्ने खालका त हुँदैनन्। त्यसकारण धेरै मर्का परेको छ।”
उनले बिजुलीको अतिरिक्त व्यवस्था गर्दा आफ्नो उद्योगलाई दैनिक १५ लाख रुपियाँ घाटा पर्ने बताएका छन्।
विकल्प
यो समस्याको तत्काल समाधान गर्न उद्योगीहरुले वैकल्पिक उपाय खोज्न सरकारलाई आग्रह गरेका छन्।
गोल्छाले सरकारले तत्काल २०० देखि ३०० मेगावाट सम्म बिजुली उत्पादन गर्न थर्मल परियोजनामा लागि हाल्नुपर्ने बताए।
एक साता अगाडि ७० मेगावाट क्षमताको मध्य मर्स्याङ्गदी आयोजना शुरु भएपछि पलाएको उज्यालोको आशालाई लोड शेडिंगको नयाँ तालिकाले अन्धकारमा डुबाइदिएको छ।
छिट्टै डिजेल मार्फत बिजुली उत्पादन गरेर राहत दिने सरकारको आश्वासनले व्यापारीहरुलाई आशा गर्ने अर्को ठाउँ भने दिएको उनीहरुको भनाइ छ।
रेडियो रिपोर्ट : बिबिसि नेपाली सेवा
Click Play To Listen