विद्युत प्राधिकरणलाई सुधारका कार्यक्रम सन्चालन गर्न एसियाली विकास बैंकले ५ अर्ब २६ करोड रुपैयाँ ६५ मिलियन डलर अनुदान दिने भएको छ। यो अनुदान रकम प्राधिकरण र सरकारले सन्चालन गर्न लागेको ´पाइलट प्रोजेक्ट´ का लागि दिन लागिएको हो। अनुदान रकम दिन एडिबी सहमत भइसकेको र सम्झौता हुन बाँकी रहेको प्राधिकरणका प्रसारण लाइन विभाग महाप्रबन्धक युगलकिशोर शाहले बताए।
आगामी आर्थिक वर्ष २०६६/६७ को बजेटबाट सरकारले झण्डै ७ अर्ब २९ करोड रुपैयाँको पाइलट प्रोजेक्टको थालनी गर्ने छ।
एडिबीबाट प्राप्त हुने अनुदान रकम प्रसारण लाइन बनाउने विद्युत उत्पादन गृहको क्षमता बढाउने सबस्टेसन बनाउने भोल्टेज सुधार गर्ने विद्युत् चुहावट घटाउने र सौर्य उर्जामा आधारित सडक बत्ती राख्न खर्च हुने छ। नेपाललाई दिइएको यसपटकको अनुदान रकममा एडिबीले जटिल शर्त नराखेको बताइएको छ । सामान्य शर्तका रुपमा विद्युत महसुल पुनराबलोकन हुनुपर्ने र संस्थागत सुधार गरिनुपर्ने लगायतका छन्।
शाहका अनुसार लमहीदेखि महेन्द्रनगर सम्मको प्रसारण लाइनमा अर्को लाइन थपेर १ सय ३२ केभीको बनाइनेछ। लमहीदेखी कुसुम भन्ने स्थानसम्मको प्रसारण लाइनमा भने नेपाल सरकारको बजेटबाट क्षमता बढाउने काम भइरहेको छ। त्यस्तै मर्स्याङ्दीबाट डुम्रे हुदै दमौलीबाट फेरी मस्र्याङ्दीमा नैं फर्किने प्रसारण लाइन निर्माणमा एडिबीसँग सम्झौता हुने प्रक्रियामा रहेको शाहले बताए।
काठमाडौंको उत्तरी भेगमा विद्युतको भार बढ्दै गएका कारण अर्को सबस्टेशन बनाउनुपर्ने भएको छ। जनघनत्व बढ्दै गएका कारण त्यहाँ सबस्टेशन बनाउनुपर्ने भएको हो । पाइलट प्रोजेक्ट अनुसार चपलीमा १ सय ३२ केभीको सबस्टेशन बनाउने कार्यक्रम छ । भोल्टेजको सुधारका लागि क्यापासिटर बैंक जडान गर्ने कार्यक्रम पनि रहेको प्रसारण लाइनका निर्देशक हरिहर पालिखेले बताए ।
हाल प्रसारण लाइनको चुहावट ५ प्रतिशतबाट चार वा साँढे चार बनाउने लक्ष्य छ । अहिले प्राधिकरणको समग्र चुहावट २७ प्रतिशतभन्दा बढि छ।
मर्स्याङ्दी र गण्डकको जलविद्युत आयोजनाको उत्पादन गृहमा सुधारको काम गर्ने पनि पाइलट प्रोजेक्ट केन्द्रित हुने बताइएको छ । यी दुई प्रसारण गृहलाई पुनस्र्थापित गरेपछि थप ४० लाख युनिट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछन् । मस्र्याङ्दीको क्षमता ६९ मेगावाट र गण्डकको क्षमता १५ मेगावाट भए पनि त्यो भन्दा निकै कम यी आयोजनाले उत्पादन गर्दै आएका छन्।
सोलारबाट चल्ने सडक बत्ती काठमाडौ भक्तपुर र ललितपूरका विभिन्न स्थानमा राखिने पाइलट प्रोजेक्टको योजना छ। योजना अनुसार भक्तपुर काठमाडौं ललितपुरमा राखिने छन्। त्यस्तै पशुपतिनाथ स्वयम्भु बौद्ध ठमेल इन्द्रचोक न्यूरोडमा पनि सौर्य उर्जाबाट सन्चालित हुने सडकबत्ती राखिने शाहले बताए ।
