राम केसी, (सिन्धुपाल्चोक), देशले लोडसेडिङको मार खेपिरहेको बेला आगामी डेढ वर्षभत्र सम्पन्न गर्ने लक्ष्यका साथ गेलुङखोला विद्युत् आयोजनको कार्य शुरू भएको छ।
जिल्लाको मध्य क्षेत्रमा पर्ने हगाम गाविसको गेलुङखोलाबाट गेलुङखोला हाइड्रोपावर कम्पनी लिमिटेडले ३ हजार ३ सय ५० किलोवाट क्षमताको विद्युत् आयोजनाको निर्माणकार्य शुरू गरेको हो।
बरम्ची गाविसको ढाँडेदेखि हगामको पाटीचौरसम्मको १९ किलोमिटर प्रवेश मार्गको निर्माण कार्य २ करोड रुपियाँ लागतमा शुरू भइसकेको कार्यकारी निर्देशक पूर्णबहादुर श्रेष्ठले जानकारी दिनुभयो।
अरनिको राजमार्गको बलेफीदेखि ढाँडेसम्म दैनिक यात्रुबस सञ्चालन भइरहेकाले प्रवेश मार्ग निर्माण गर्न थप लगानी गर्नुनपर्ने हुँदा आयोजनाबाट उत्पादित विद्युत् सस्तो पर्ने बताइएको छ। प्रवेशमार्गको निर्माणकार्य २ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ।
र्सार्वजनिक सुनुवाइसमेत भइसकेको सो आयोजनाको कुल लगानी ४६ करोड रुपियाँ लाग्ने अध्ययनले देखाएको छ। आयोजनाले स्वदेशी बैंकसँग ऋण लिने प्रक्रिया अघि बढाएको छ।
आयोजनाबाट जिल्लाबासीलाई ४० प्रतिशत शेयर वितरण गर्नुका साथै कामदारलाई अनिवार्य रूपमा १ सय कित्ता शेयर लिनुपर्ने व्यवस्था गर्न लागेको श्रेष्ठले बताउनुभयो।
आयोजनास्थलदेखि लामोसाँगुसम्मको १९ किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्ने र सोका लागि बरम्चीस्थित युनिक हाइड्रोपावर कम्पनीसँग संयुक्त रूपमा निर्माण गरिने भएको छ।
बरम्ची साना जलविद्युत् आयोजनमा भइरहेको ९ सय ८० किलोवाटलाई ४ दशमलव ३ मेगावाट स्तरोन्नतिको काम धमाधम भइरहेको छ। जिल्लामा यो समेत कुल ७ वटा आयोजनाबाट विद्युत् उत्पादनको काम भइरहेको छ। जसबाट कुल ८८ मेगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।
