
[ लविद्युतजस्तै काठमाडौं उपत्यकावासीले भोगेको अर्काे पीडा हो- खानेपानीको । राज्यले मेलम्चीको सपना बाँडेको दशकौं भइसकेको छ । तर किन मेलम्ची आउन सकिरहेको छैन भन्ने ती काकाकुल उपत्यकावासीलाई थाहा छैन । ]
यतिखेर मुलुक ऊर्जा संकटमय छ र मुलुक अँध्यारोको चपेटामा परेको छ । दैनिक १६ घन्टा लोडसेडिङको अवस्था आउनुको कारण अझै खोतलिँदैन । सरकारी कुर्सीमा रहेका बिजुलीका हर्ताकर्ता र लगानीको माहोल भाँड्नेहरू यतिखेर मौन छन् । माग र उत्पादनको हिसाब गरी त्यसअनुरूप विद्युत आयोजना निर्माण अघि बढाउन नसक्नुको परिणति हो- दिनमा ८ घन्टामात्रै उपयोग गर्न पाउने अवस्था सिर्जना हुनुमा ।
वर्षमा वर्षेनि ६० देखि ८० मेगावाटको बिजुली माग बढ्थ्यो । यो माग पूरा गर्ने गरी जलविद्युत आयोजनाहरू निर्माण गर्ने योजना अघि बढ्न सकेन । यसको पृष्ठभूमिमा दुई प्रमुख कारण हुन्- पहिलो माओवादी ‘जनयुद्ध’ र दोस्रो राज्य सञ्चालक तथा योजनाकारहरूमा दीर्घकालीन सोचको अभाव ।
माओवादीको ‘जनयुद्ध’, जसले लगानी वातावरण बिगार्यो । जहाँ राजनीतिक द्वन्द्व, भिडन्त र तनाव हुन्छ, त्यहाँ लगानीको वातावण हुँदैन । यो सन्देश विदेशीमात्र होइन, स्वदेशका लगानीकर्ताहरूमाझ पनि फैलियो । ‘एक त बूढो मान्छे, त्यसमाथि पोलियोको रोगी’ भनेजस्तै लगानीकर्ताहरू भड्किरहेको अवस्थामा विद्युत विकास विभागले ‘जेन्युइन’ लगानीकर्तालाई लाइसेन्स दिएन । अर्कातिर नेपाल विद्युत प्राधिकरण, जसलाई यतिबेलाको ‘अँध्यारो’को पूर्वानुमान हुँदाहुँदै पनि परम्परावादी सोचका कारण विद्युत खरिद सम्झौता -पीपीए) गर्न चाहेन ।
उता विद्युत आयोजना लाइसेन्स विभागमा महानिर्देशक र तिनका अधिकारीहरूको मनोमानी रहयो भने लाइसेन्स लिनेहरू पनि वास्तविक लगानीकर्ता हुन् या होइनन् भन्ने विश्लेषण गर्न सकेन । जलस्राेत सचिवले विभागको सिफारिसमा ‘मनपरेकालाई लाइसेन्स दिने र मन नपरेकालाई नदिने वा खारेज गर्ने’ परिपाटीको विकास हुन पुग्यो । राजनीतिक संकटको मौका उठाउँदै लाइसेन्स पाएका वा पीपीए भएका लगानीकर्तालाई स्थानीय वासिन्दाले ‘आफ्नो हकअधिकार’का नाममा विभिन्न बाधा-व्यवधान खडा गरिरहे । एक मेगावाटको आयोजना निर्माण गर्नेलाई कुलो, सिंचाइ, स्कुल, स्वास्थ्यचौकी, सडकजस्ता राज्यले गर्नुपर्ने दायित्व थोपरिन गयो । तत्कालीन माओवादी जनयुद्धले भड्किएका लगानीकर्ता, स्थानीय वासिन्दा र तिनलाई उचाल्ने केही गैरसरकारी संस्थाको स्वार्थका सिकार बन्न पुगे ।
जलविद्युतजस्तै काठमाडौं उपत्यकावासीले भोगेको अर्काे पीडा हो- खानेपानीको । राज्यले मेलम्चीको सपना बाँडेको दशकौं भइसकेको छ । तर किन मेलम्ची आउन सकिरहेको छैन भन्ने ती काकाकुल उपत्यकावासीलाई थाहा छैन । मेलम्चीमाथिको राजनीति, मेलम्चीलाई देखाएर गरिने गैरसरकारी संस्थाहरूको आर्थिक कारोबार, अनि तिनै गैरसरकारी संस्थाबाट स्थानीय अधिकारको दुहाइ दिँदै मेलम्चीका केही स्वार्थपरक वासिन्दालाई भड्काएको एकमुष्ठ परिणाम हो, आयोजनाको ढिलाइ ।
एकमुठो रायोको साग स्थानीय बजारमा नबिक्ने अवस्था रहेको मेलम्चीमा राष्ट्रिय राजमार्गस्तरका सडकहरू बने । यतिखेर स्वतन्त्र सर्वेक्षण गर्ने हो भने मेलम्ची आयोजनाकै कारण त्यस क्षेत्रका जनताको जीवनस्तरमा आधाभन्दा बढी प्रगति भइसकेको अवस्था छ । जहाँ जलविद्युत र मेलम्चीजस्ता आयोजना निर्माण हुन्छन्, त्यस क्षेत्रका जनताको आर्थिक उन्नति हुन्छ, यो शाश्वत सत्य हो । तर मेलम्चीलाई सधैं दुहुनो गाई बनाएर आफ्नो आर्थिक अभीष्ट पूरा गर्न पल्केका केही एनजीओ र तिनका मतियारका रूपमा देखापरेका स्थानीय वासिन्दाका नाममा केही व्यक्तिले आयोजना समयमा पूरा हुन अनेक दुःख दिए र हानिल कोनेकोजस्ता ठेकेदार कम्पनी साइटबाट भाग्नुपर्यो । त्यसैको परिणति थियो, मेलम्ची थप दुई वर्ष पर धकेलिनु ।
मेलम्चीलाई कहिले सेभेर्न टे्रन्टका नाममा यहाँका एनजीओहरूले उचाले । माओवादीबाट सरकारमा गएकी तत्कालीन भौतिक योजनामन्त्री हिसिला यमीले तिनै एनजीओको लहैलहैमा पूर्ववर्ती सरकारका प्रतिबद्धताहरू उल्लंघन गरिन् र मेलम्ची थप दुई वर्ष धकेलियो । उनको धारणाअनुसार, भर्ना भएका केयुकेएलका विदेशी परामर्शदाताहरूले उपत्यकावासीका लागि साँच्चिकै के गरे ? त्यसको लेखाजोखा हुनुपर्छ । मेलम्ची अझै पनि संकटमुक्त भने छैन । एडीबीको पूर्व सर्तअनुसार खानेपानीको महसुल केही वृद्धि गर्नुपर्छ । यमीले ‘मेलम्ची विरोधी’हरूलाई खानेपानी महसुल निर्धारण आयोगका पदाधिकारीमा भर्ना गरेपछि सर्त कार्यान्वयनमा शंका पैदा भएको छ ।
राज्यले एउटा बहुपक्षीय निकायसँग गरेको प्रतिबद्धता आयोगका केही व्यक्तिका दृश्य/अदृश्य स्वार्थका कारण पूरा हुनसकिरहेको छैन । तर माओवादीको ‘निर्देशन’ प्राप्त भएमा जतिबेला पनि भाउ बढाउन तयार छन् । भाउ नबढाए एडीबीले साढे ६ करोड अमेरिकी डलर बराबरको ऋण सहायता रद्द गर्ने चेतावनी दिइसकेको छ । यसो हेर्दा, एडीबीजस्तो बहुपक्षीय दातृनिकायले एउटा स्वतन्त्र र सार्वभौम देशलाई यस्तो दबाब दिन मिल्छ ? केहीका निम्ति यो असहय कुरा हो । तर वास्तविकता पनि त्यही हो । खानेपानीको भाउ नबढेको अवस्थामा अर्थ मन्त्रालयले केयुकेएललाई महिनाको एक करोड रुपैयाँ दिँदै आएको छ । तिनै यमीले संविधानसभाको चुनावमा आफ्नो मतदाताको भोट नपाइने डरले चुनावपछि भाउ बढाउन प्रतिबद्धता जनाएकी थिइन् । केयुकेएलले ३ करोड रुपैयाँ लगिसकेको छ । त्यो पाँच करोड रुपैयाँ मुगु र बझाङका जनताले तिरेको तिरो हो । काठमाडौंका हुनेखानेका लागि मुगुका वासिन्दाले आफ्नो पेट काट्नुपर्ने, यो कस्तो वास्तविकता हो ?
आयोगले आफूलाई स्वायत्त भन्छ । तर राज्यले यो आयोगका लागि वर्षको ५० लाखभन्दा बढी रुपैयाँ खर्च गर्नुपरेको छ । यसका अध्यक्षले महिनाको ५५ हजार तलब खान्छन् । यिनका सदस्यले एउटा बैठकका लागि राम्र्रै भत्ता पाउँछन् । राज्यको यस्तो सीमित स्रोत आयोगमा, त्यो पनि कुनै उल्लेखनीय कामविना दुरुपयोग भइरहेको छ । अहिले आएर तिनै व्यक्ति ‘उपभोक्ता हित’का नाममा मेलम्चीमाथि राजनीति गरेर उपत्यकावासीलाई सदावहार काकाकुल बनाउने प्रयत्नमा छन् । प्रतिबद्धता पूरा नगर्नु भनेको मेलम्ची रद्द गराउनु हो । यसको अभीष्ट नै त्यत्ति हो । तर यसको असर उपत्यकाका ४० लाख जनतामाथि पर्दैछ । अर्थ मन्त्रालयले उपत्यकाका सुविधाभोगी वासिन्दाका लागि पानीमा अनुदान दिइरहेको छ । आयोगका पदाधिकारीहरू मेलम्ची आउनैहुन्न भन्ने पक्षमा रहेका विगतमा उनीहरूका क्रियाकलाप र पृष्ठभूमिले स्पष्ट गरिसकेको छ । कोही मेलम्चीलाई बहुउद्देश्यीय बनाउने नाममा रद्द गराउनतिर लागेका देखिन्छन् । मेलम्ची राजनीतिमुक्त कहिले होला ?