टाइम्स संवाददाता
काठमाडौं, साउन ३२ । एकीकृत नेकपा माओवादीका प्रवत्ता दिनानाथ शर्माले पञ्चेश्वर परियोजना सम्पूर्ण मुलुकका लागि दुर्भाग्यपूर्ण हुने भएकाले यसलाई अघि बढाउन नहुने बताएका छन् । प्रधानमन्त्री माधवकुमार नेपालको आसन्न भारतभ्रमणका क्रममा परियोजना सञ्चालनबारे भारतसँग सहमति हुने बताइएको भए पनि वर्तमान सरकारले त्यसबारे निर्णय गर्न नहुने जिकिर उनले गरे ।
रिपोर्ट्स क्लबले राजधानीमा आइतबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले सो कुरा बताएका हुन् । पञ्चेश्वरमा गर्न लागिएको सहमतिले देशको हित नगर्न दाबी गर्दै उनले यसतर्फ सरकारले सहमति गर्न लागेको विषयले अनेक आशंकाहरू निम्त्याएको धारणा राखे । भारतको आशीर्वादबाट वर्तमान सरकार गठन भएकाले पञ्चेश्वरप्रति सरकारले यस्तो आशंकापूर्ण कार्य गर्न गइरहेको जनाउँदै उनले भने, ‘पञ्चेश्वर अगाडि बढाउने सहमति भए यो देशका लागि सबैभदा ठूलो दुर्भाग्य हुनेछ ।’ 
प्रवक्ता शर्माले महत्त्वपूर्ण सन्धि सम्झौता गर्न सदनको दुई तिहाई मत आवश्यक पर्ने बताउँदै भने, ‘दुई तिहाई पुर्याउन नसक्ने कठपुतली सरकारले सन्धि सम्झौता गर्न सक्दैन ।’ पञ्चेश्वर परियोजनाबाट देशलाई कति लाभ हुन्छ भन्ने प्रमुख प्रतिपक्षीले जानकारी पाउनुपर्ने मागसमेत गरे ।
नेपाली श्रोतमाथि जनताको हक हतियार कुण्ठित पारेर पञ्चेश्वरजस्ता परियोजना सञ्चालनमा सहमति जनाएर सरकारले भावी पुस्ताको भविष्यलाई अन्धकारमय बनाउन खोजेको आरोप लगाए । माओवादी नेतृत्वको सरकारका पालामा समेत राष्ट्रघाती ठहराइएको नौमुरे परियोजनाबारे सोधिएको प्रश्नमा उनले भने देशलाई घाटा हुने काम आफूहरूले नगरेको दाबी गरे ।
संविधान लेख्नुपर्ने बेलामा सन्धि सम्झौता गरेर अन्यत्र ध्यान अन्तै मोड्न खोजिएको आरोपसमेत उनले लगाए ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले एकीकृत नेकपा माओवादीले पञ्चेश्वर परियोजनाको विरोध गर्नको कुनै अर्थ नभएको बताए । देशलाई लाभ हुने महत्त्वपूर्ण सन्धि सम्झौताको विरोध गर्ने परिपाटी बसिसकेकाले माओवादीले विरोधलाई स्वाभाविक भएको जिकिर उनले गरे । पञ्चेश्वर परियोजना अगाडि बढे सम्पूर्ण मुलुकलाई फाइदा हुने बताउँदै पूर्व जलस्रोतमन्त्रीसमेत रहेका राणाले भने, ‘देशलाई फाइदा पुग्ने सन्धि सम्झौताको पनि विरोध गर्नु फेसन भइसकेको छ ।’
प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबाट पञ्चेश्वरको डीपीआर अगाडि बढाउन सहमति हुनुपर्नेमा जोड दिँदै उनले भुटानले जलविद्युतबाट हासिल गरेको प्रगतिबाट नेपालले सिक्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले पञ्चेश्वर परियोजनाको विरोध गर्नुभन्दा यसबाट देशलाई कसरी अधिकतम फाइदा दिलाउन सकिन्छ भन्नेबारे गृहकार्य गर्नुपर्ने बताए । प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा आफ्नो कुरा बलियो रूपमा राख्न राष्ट्रिय सहमति बनाउनुपर्ने उल्लेख उनले भने, ‘डराएर सहमति सम्झौता गर्नु हुँदैन, प्रधानमन्त्रीलाई बलियो बनाउने दायित्व सबैको हो ।’ भारतसँगको व्यापार घाटा बढेर १ खर्ब ६ अर्ब पुगेकोले घाटा कम गर्न प्रयास हुनुपर्नेमा ध्यान जानुपर्ने उनले बताए । नेकपा मालेका महासचिव सीपी मैनालीले समेत पञ्चेश्वर परियोजना डीपीआर बनाउन जोड दिनुपर्ने बताए । नेपाललाई अत्यधिक फाइदा हुने गरी प्रधानमन्त्रीको भारत भ्रमणमा यससम्बन्धी छलफल अघि बढाउनुपर्ने बताउँदै उनले भने, ‘नेपालको अधिकतम हितमा ध्यान दिई सहमति गर्नुपर्छ ।’
Source: Himalayatimes.com.np
