जलस्रोतको विकासका बारेमा विभिन्न धारणा र प्रवृत्तिहरू देशभित्र देखापरेका छन् । यस्ता धारणा र प्रवृत्तिहरूबीचको फरक नितान्त व्यावसायिक बहस मात्र होइन त्यस्तो बहसले राजनीति, सडक र सदनलाई तताउनेदेखि परियोजनाहरू निर्माणको विरोध र सङ्घर्षसम्ममा पुर्या्एको छ । यस्तो सङ्घर्षको परिधि राष्ट्रिय सीमालाई नाघेर क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा पनि पुगेको छ । हुन पनि जलस्रोतको विषयमा यस्तो स्थिति नेपालमा मात्र होइन अन्य देश र अन्तर्राष्ट्रिय स्तरमा नै देखिएको छ । त्यसैले नेपालको जलस्रोतलाई बुझ्दा राष्ट्रिय सम्बद्धताहरूको साथै यसको अन्तर्राष्ट्रिय पक्षलाई पनि ध्यानमा राख्नु आवश्यक छ ।
जलस्रोतको दिगो संरक्षण र विकासको आवश्यकता टड्कारो रूपले महसुस गरेर अन्तर्राष्ट्रिय स्तरमा यसबारे विभिन्न घोषणा भएका छन् । रियो र डब्लिन घोषणालाई उदाहरणको रूपमा लिन सकिन्छ । स्वच्छ खानेपानीको अधिकार मानव अधिकारको रूपमा नै लिइन्छ । यति हुँदा हुँदै पनि विभिन्न राष्ट्रहरू हुँदै बगेको नदीमा कुनै एक राष्ट्रले उपयोग गर्ने र त्यस्तो उपयोगबाट अर्को देशमा पर्ने प्रभावका सन्दर्भमा विचार गरिन्छ त्यतिखेर कुनै न कुनै रूपमा त्यस्तो उपयोगको सीमा र परिधिलाई राष्ट्रको सम्प्रभुताको सिद्धान्तसित पनि गाँसिन पुगेको देखिन्छ । अन्तर्राष्ट्रिय कानुनले मूलतः राष्ट्रको सार्वभौमिक स्वतन्त्रताको परिधिहरू कोरेको हुन्छ । त्यस अर्थमा अन्तर्राष्ट्रिय कानुनले एकातिर राष्ट्रको सार्वभौमिक स्वतन्त्रताको व्याख्या र रक्षा गर्दछ भने अर्कोतिर यसले त्यसमा केही परिसिमनहरू निर्धारित गर्दछ । व्यवहारमा यी परिसिमनहरू र सार्वभौमिकता जनित अधिकारका बीचमा हुने विभेद र सङ्घर्षले विवादको सिर्जना गर्दछ । जलस्रोतको विकासको क्रम पनि यसै किसिमको देखिएको छ ।
१९औं शताब्दीको अन्त्यतिर आउँदा देखापरेको क्षेत्रीय सम्प्रभुताको सिद्धान्त एकातिर र अर्कोतिर २०औं शताब्दीको पहिलो चौथाई वर्षहरू पछि देखापरेको क्षेत्रीय अखण्डताको सिद्धान्तको दुई विपरीत ध्रुवबीच रहेर विकास भएका विभिन्न अवधारणा २०औं शताब्दीको अन्त्यतिर आएर सामान्यतया “न्यायपूर्ण उपयोग र हक” को सिद्धान्तसम्म आइपुग्दा पनि सर्वसम्मत किसिमले राष्ट्रहरूले आˆना व्यवहारमा उक्त सिद्धान्तलाई अपनाउन सकेका छैनन् र अझै पनि उल्लिखित विपरीत ध्रुवीय दृष्टिकोण प्रकट गरिरहेका नै छन् । त्यसैको परिणाम हो अन्तर्राष्ट्रिय कानुन आयोगले २० वर्षभन्दा बढी समय लगाएर बनाएको जलस्रोतको गैर यातायातीय -अर्थात् खानेपानी, सिंचाइ, जलविद्युत्, मनोरञ्जन, मत्स्यपालन र यस्तै अन्य प्रयोग) प्रयोग सम्बन्धी महासन्धि व्यवहारमा आउनसकेको छैन । फलतः अझै पनि जलस्रोतसम्बन्धी कुनै खास सम्झौताको व्याख्याभन्दा पनि सम्झौता नभएका अवस्थामा अन्तर्राष्ट्रिय विवादको समाधान गर्न पर्दा कष्टमरी इन्टरनेशनल ल अर्थात् अदालतका निर्णयहरू, राज्यका व्यवहारहरू, सरकारी एवं गैर सरकारी स्तरमा गरिएका प्रयासहरू अन्तर्राष्ट्रिय कानुनमा मान्यताप्राप्त सिद्धान्तहरू, विद्वानहरूका विचारहरू इत्यादिमा भर पर्नुपरेको छ ।
राष्ट्रिय पक्षतर्फ विचार गर्दा जलस्रोतको विकाससित स्थानीय जनता, आदिवासी, जनजाति, महिला इत्यादिका हक हितसित सम्बन्धित घोषित अघोषित सिद्धान्तहरू र सीमाहरूको विस्तार नकोरिएको रूपमा स्थापित अधिकारहरू, पर्यावरण संरक्षण र दिगो विकासका अवधारणाबाट प्रभावित एवं जलस्रोत स्वयंकै विकासका विकल्पहरूसित अभिन्न रूपले जोडिएका जल जंगल र जमिन जस्ता विषयसँग सम्बन्धित मुद्दाहरू जोडिन पुगेको छ । यसले गर्दा अवधारणाहरूको यस्तो जञ्जालभित्र जलस्रोत विकासको विषय जेलिन पुगेको छ । लाग्छ हामी यसै जञ्जालभित्र यसरी फस्छौं वा फँस्दै गएका छौं कि जलस्रोत वास्तविक अर्थमा “आकाशको फल आँखा तरी मर” हुँदैछ । झन् त्यसमा पनि अब सङ्घीयता उपसंघियताको क्षेत्रीय, लिंगीय, जातीय तथा भाषिक मुद्दा र अवधारणाप्रतिको एकोहोरो सीमारहित फलाको र पक्षपोषणको प्रवृत्तिभित्र जेलिएर झन् झन् जटिल हुने अवस्था देखिंदैछ । यस्ता अवधारणा र प्रवृत्तिलाई पहिचान गरेर मोटामोटी रूपमा तिनलाई विभिन्न कित्तामा राख्नुपर्दा पहिलो कित्तामा त्यो अवधारणा र प्रवृत्ति पर्दछ जुन बढीभन्दा बढी समावेशी हुन खोज्दछ । जसले जलस्रोतका विभिन्न पक्षका मुद्दाहरूको चरित्र एवं त्यसका आ-आˆनै र अरुसित सम्बन्धित विशेषतालाई केलाउने काम सम्म त गर्दछ तर खास निर्णय भने गर्न सक्दैन र “समग्र पक्षको विकास” मा गएर टुङ्गइिर् अन्त्यमा मानिसको उत्पत्ति र विकास, संस्कृति र जीवपद्धतीसित जोडेर त्यसकै सेरोफेरोमा विकासलाई हेर्नुपर्छ भने जस्तो निश्चित रूपले व्याख्या गर्न नसकिने एउटा गुजुल्टोमा ल्याएर छोडिदिन्छ जसको छेउ टुप्पोको पत्तो पाउन सकिंदैन । फलस्वरूप जे जस्तो निर्णय गरे पनि त्यस्तो निर्णयको अर्को विकल्प वा अर्को पाटोलाई एकोहोरो किसिमले उजागर गर्ने गरिन्छ । यस्तो अवधारणा र प्रवृत्ती कै कारणले नेपालमा बनाउन खोजिएका परियोजनाहरूको निरपेक्ष रूपमा विरोध गर्ने गरिएको छ । यस्तो विचारले राष्ट्रिय परिस्थिति र त्यसका सीमाङ्कनहरूलाई ख्याल गर्दैन । जलाशययुक्त योजना बनाउनै हुँदैन वा जलस्रोतको विकासमा मानव हस्तक्षेपभन्दा पनि मानिसले आˆनो विकासलाई नै जलस्रोतको चरित्रसित घुलमिल गर्ने गरी मिलाउनुपर्छ भन्ने जस्ता धारणा र पक्षपोषण गर्दछन् । दोस्रो कित्तामा त्यस्तो अवधारणा र प्रवृत्ति देखिन्छ जो सूक्ष्मरूपले जलस्रोत विकासको अवधारणागत आवरणभित्र रहेर आˆनो व्यापारिक अभीष्ट पूर्ति गर्नमा लाग्दछ ।
जलस्रोतबाट ऊर्जा निकाल्दाको परिस्थितिमा एकथरीको व्यापारलाई केही लाभ हुनसक्छ भने अन्य विकल्प अपनाउँदा अर्कोथरीको व्यापारलाई लाभ मिल्न सक्छ । यस्तो निहित स्वार्थको यो जञ्जाल ज्यादै जरा गाडिएको पूर्ण व्यावसायिकताभित्र छिरेर आˆनो अभीष्ट सिद्ध गर्नमा सफल भएको हुन्छ । उदाहरणका रूपमा स्वयं नै नेपालको अवस्थालाई लिन सकिन्छ जहाँ जलस्रोतको योजनाको निर्माणमा व्यापारिक/व्यवसायीहरूको स्वार्थ योजना तर्जुमा गर्दाको अवस्थामा नै हुन्छ । तेस्रो कित्तामा ती अवधारणाहरू पर्दछन् जो हिजोसम्म जलस्रोतको विकासलाई एउटा ठाडो व्यावसायिकताको दृष्टिले हेरिरहेका र त्यसै किसिमको प्रयोगका विषयमा बढी जानकारी राख्दथे । यस्ता किसिमका विचार राख्नेहरूको सामुन्ने जलस्रोत विकाससित सम्बन्धित संरचनाहरू बनाउनु र त्यसबाट जलस्रोतलाई विभिन्न उपयोगमा ल्याउनु नै अभीष्ट थियो । अझ केही समय पहिलेसम्म त जलस्रोतको संरक्षण पक्ष यस्तो विचारमा सम्मिलित भएर आएकै थिएन । केही दशकदेखि संरक्षण र जनसहभागिताका पक्षहरू यस्ता खालका धारणामा समावेश गरिए पनि त्यसको उचित स्थान ती पक्षले अझै पाउन सकेका छैनन् । हाम्रा परम्परागत सरकारी निकायहरू यसै अवधारणाबाट केही हदसम्म अनुप्राणित छन् ।
चौथो कित्तामा त्यस्तो विचार आउँछ जो व्यवहारवादी छ र जलस्रोतको समग्र पक्षलाई सैद्धान्तिक बहसको विषयमा सीमित नराखी त्यसको व्यवहारमा जोड दिन्छ । त्यसरी व्यवहारमा जोड दिंदा पहिलो कित्ताको धारणा राख्नेहरूका लागि व्यवहारवादीबाट गरिएका प्रयासहरू दिगो विकासको अवधारणासित मेल नखाने जस्तो देखिन्छ । व्यवहारवादीहरूको प्रयासबाट जलस्रोतको उच्चतम व्यवस्थापन हुनसक्दैन भन्ने लाग्दछ । त्यतिमात्र हैन, जलस्रोतको प्राकृतिक प्रकृतिसित मानिसले बाँच्न सिक्नुपर्छ त्यसलाई अनावश्यक किसिमले हस्तक्षेप गर्नुहुँदैन भन्ने नै यस पक्षको विरोध गर्नेहरूलाई लाग्दछ । यस्ता पक्षका लागि बाँध बनाउनु, ठूला परियोजनाहरू बनाउनु र नेपालजस्तो देशको हकमा विद्युत्को निर्यात गर्नु महाभूल हो । यो पक्ष बढी सशक्त देखिन्छ किनभने यो पक्षको उत्तरदायित्व व्यावसायिक बहस चलाउनुभन्दा बढी छैन जब कि व्यवहारवादीहरूको उत्तरदायित्व जनतालाई जलस्रोत प्रयोगबाट लाभ उत्पादन गर्नुरहेको छ र त्यस्तो लाभको उत्पादन पनि खास सीमाभित्र गरिनु आवश्यक छ अन्यथा सीमाहीन किसिमको सोचाइले लाभ प्रप्त गर्ने काम पनि हुँदैन र लाभ प्रप्त गर्नुभन्दा “आकाशको ˆmल आँखातरी मर” को स्थितिमा पुगिन्छ ।
माथिका अवधारणाको भुमरीमा हाम्रो जलस्रोतको विकास रुमल्लिएर रहेको छ । कुनै पनि सिद्धान्त यदि जनतासित प्रत्यक्षरूपले सम्बन्ध राख्दैन र त्यसले आˆना सीमा र सम्भावनालाई कुनै खास समय र परिस्थितिको सन्दर्भमा व्याख्या गर्दैन त्यसले जनताका लागि कुनै उपादेयता राख्दैन । नेपालको जलस्रोतका सीमाहरू छन् र ती सीमाहरू कतिपय भौगोलिक र कतिपय मानव निर्मित छन् । यी सीमाहरूको पहिचान आवश्यक छ । भौगोलिक सीमाहरूलाई विचार गर्दा हाल उपलब्ध जलस्रोतको उपलब्धता र आवश्यकतालाई हेर्दा जलस्रोतको विकासको बहसमा मानिसको तर्फबाट हस्तक्षेप गर्न अति आवश्यक छ । अब हस्तक्षेपको परिधि कस्तो हुुने हो ? यसको किसिम कस्तो हुनुपर्छ भन्ने अर्को चरणको बहस र त्यसका अवधारणा र प्रवृत्तिहरूलाई केलाउनुपर्ने हुन्छ । यस्तो विश्लेषणको राष्ट्रिय पक्षतिर हेर्दा जलाशययुक्त योजनाहरू बनाउनै हँुदैन भन्नेदेखि जुनसुकै जलस्रोत योजनालाई र खास गरी आ-आˆनो धारणा अनुसार ठूला भनिएका योजनाहरूको विरोध गर्नु एक किसिमको धर्म नै ठान्नेहरू देखिएका छन् । अरुण-३ को मात्र किन कालीगण्डकीदेखि पश्चिम सेती, माथिल्लो कणर्ाली कुन चाहिं परियोजनाको विरोध गरिएको छैन र !
नेपालको सन्दर्भमा यी अवधारणाहरू र त्यसमा विश्वास राखेर निरपेक्षरूपले विरोध गर्ने प्रवृत्तिहरूका बीचमा जलस्रोतको विकास गर्नु कम चूनौतीपूर्ण कार्य होइन । नेपालको जलस्रोत विकासमा राष्ट्रिय आवश्यकता पहिलो प्राथमिकता हो यसमा कुनै विवाद छैन । नेपालका लागि नभई बाहिर जलविद्युत् निकासी गर्नुहुँदैन । यो ठीक हो तर यसको अर्थ नेपालले आफूले खपत गर्न नसके भारतमा निकासी गर्न हुँदैन वा निकासी गर्ने गरी जलविद्युत् योजना बनाउन हुँदैन भन्नु गलत हो । नेपालमा ठूला, साना, मझौला सबै खालका योजनाहरू छन् । कुन योजना कसरी सम्भाव्य हुन्छ भन्ने कुरा योजना विशेषको चरित्रमा भर पर्ने कुरा हो । नेपालको पूँजी बजार ज्यादै सानो र लगानी वातावरण बनी नसकेको अवस्था छ । यो एकैपटक हुने कुरा होइन । वर्षौं लाग्छ यसलाई परिवर्तन गर्न व्यवहारवादी हुनैपर्छ । दोस्रो खरिदकर्ता को हो त्यसको ठेगान नलगाई विद्युत् परियोजनामा कसैले पनि लगानी गर्दैन । तेस्रो, विद्युत्को आपूर्ति एकपटक भइसकेपछि त्यसलाई हत्तपती बन्द गर्न सकिंदैन ।
युरोपमा भए जस्तो प्रतिस्पर्धी ऊर्जा बजारको विकास नहोउञ्जेलको अवस्थामा विद्युत्को मूल्य र ग्राहकको बढी विकल्प छैन । अतः हालका अवस्थामा यो अरू खुद्रा सामान बेचेको जस्तो मन लागेको बेलामा एउटालाई बेच्ने मन नलागेको बेलामा अर्कोलाई बेच्ने हुनसक्दैन । यस कारणले यस देशमा व्यवहारवादी नभई सुखै छैन । त्यस्तो व्यवहारवादी हुँदा ठूला साना र मझौला सबै खाले योजनातर्फ दृष्टि दिनुपर्छ । नेपालको जलस्रोत विकासमा छिमेकी देश भारत निश्चय नै प्रत्यक्ष अप्रत्यक्षरूपले जोडिन आउँछ जलस्रोतको त्यस सन्दर्भलाई ध्यानमा राख्नैपर्छ । त्यसो गर्दा आपसी लेनदेनको विषयसित विमुख हुन सकिंदैन । अर्को कुरा, बाढीबाट हुने जनधनको क्षति रोक्ने प्रति असंवेदनशील हुन वा जलस्रोतका उपयोगबाट दुवैलाई पुग्नसक्ने लाभको मौकालाई जानाजन नकार्दाको अर्थ राजनीतिक प्रभावप्रति नेपाल संवेदनशील नहुँदाको अवस्था नेपालको हितमा पनि हुँदैन । यो भन्नुको अर्थ आˆनो हितको समर्पण होइन अपितु संरक्षणको व्यवहारवादी रणनीति लिनु हो । यस्तो व्यवहारवादी रणनीतिले आˆनो प्राथमिकता निर्धारण गर्दछ र आवश्यक परे भारतसित स्पष्टरूपमा आˆना हकहितका कुराहरूमा वार्ताद्वारा टुङ्गो लगाउँछ र राष्ट्रहितको दृष्टिले टुङ्गो लगाउन नसकिने भए सो कुराको पछि लागेर पनि हिंडिरहँदैन बरु वास्तविकता सामुन्ने राख्दछ । उपर्युक्त वास्तविकतालाई नबुझेर अन्तर्राष्ट्रिय वा राष्ट्रिय रूपमा पनि विकसित केही अवधारणा र प्रवृत्तिहरूलाई व्यवहारवादी नबनाउने हो भने त्यसले आन्तरिक र बाहृय सङ्घर्ष निम्त्याउँछ अनि जलस्रोतको विकास “आकाशको फल आँखा तरी मर” नै हुन्छ ।