Tag Archive | "Thermal plant"

Tags: ,

सरकारले थर्मलप्लान्ट किन्दैन

Posted on 18 January 2009 by editor

लोडसेडिङ बढ्नुको कारण के हो ?
हामी अहिले पीडाजनक अवस्थामा छौँ । विद्युत्को माग र आपूर्तिका दृष्टिले यस्तो पीडाजनक अवस्था आएको हो । असैह्य पीडा विद्युत्का उपभोक्ताले बेहोर्नु परिरहेको छ । यो परिस्थिति अहिलेको सरकारको निर्णयका कारण आएको होइन । विगतमा हामीले गर्नुपर्ने काम गर्न नसकेका कारण यस्तो अवस्था आएको हो । खासगरी दसौं योजनामा लक्ष्यअनुसारको उपलब्धि हात लाग्न सकेन । योजनाले गरेको लक्ष्य पूरा भएको भए आज विद्युत् आपूर्तिको दयनीय अवस्था आउने थिएन ।

सबै जिम्मेवारी दसौं योजनामाथि थोपर्न मिल्छ ?
हामी अहिले मागअनुसारको विद्युत् आपूर्ति कसरी गर्ने भन्ने दृष्टिकोणबाट काम गर्दै छौँ । सरकार मुलुकलाई लोडसेडिङमुक्त पार्न चाहन्छ । यो विषयमा सरकार अत्यन्तै गम्भीर भएर लागेको छ । विभिन्न कदमहरू चलिरहेका छौँ । मन्त्रिपरिषद्ले राष्ट्रिय विद्युत् संकट निरूपण कार्ययोजना २०६५ पारित गरेको छ । अहिले त्यसको प्रभावकारी कार्यान्वयनका लागि सरकार लागेको छ ।

मध्यमस्र्याङ्दी समय र लागतको हिसाबले हाम्रा लागि नकारात्मक मिसाइलहो । यो आयोजनालाई अनुकरणीय आयोजनाको रूपमा हेर्न सकिँदैन । यसको अनुभवबाट नसिक्ने हो भने जलस्रोतको विकास हाम्रा लागि धेरै खर्चिलो भएर जानेछ ।

कार्ययोजनाले तोकेअनुसार काम हुन्छ त ?
हामी अहिले कार्ययोजनाले तोकेका कामलाई निर्धारित समयमा सक्ने तयारीका साथ जुटेका छौँ । कुन काम कति समयमा कुन संस्थाले गर्ने भन्ने मिति कार्ययोजनामा प्रस्ट छ । त्यसअनुरूप निर्धारित काम समयभित्रै गर्ने हिसाबले हाम्रो शक्तिलाई परिचालित गरिरहेको छौँ । प्रभावकारी रूपमा कार्ययोजनालाई अगाडि बढाउन हामीले अनुगमनमा समेत ध्यान दिएका छौँ । जस्तोसुकै मूल्य चुकाएर भए पनि कार्ययोजनाअनुसारको काम गर्ने अठोट लिएका छौँ ।

थर्मलप्लान्ट ल्याएपछि सबै कुरा ठीक हुन्छ त ?
हामीले थर्मलप्लान्ट ल्याउनासाथ सबै समस्या समाधान हुन्छ भनेका छैनौँ । तापीय ऊर्जामा जाने कुरा बजेटमा आएको छ । बजेटले नै ऊर्जा क्षेत्रका समस्या सम्बोधनका लागि विकल्पको रूपमा तापीय ऊर्जा अगाडि सारेको छ । बजेट-वक्तव्यलाई व्यवस्थापिका संसद्ले पारित पनि गरेको थियो । ऊर्जाको दृष्टिकोणले मुलुक संकटपूर्ण अवस्थामा आयो । संकटबाट पार पाउन सबै खालका विकल्पबारे सोच्नु नै पर्दथ्यो । अरू सबै विकल्पबाट तत्काल समस्या समाधान नभएपछि विकल्पको रूपमा थर्मलप्लान्टको कुरा अगाडि आएको हो ।

थर्मलप्लान्ट राख्ने विषयमा मन्त्रिपरिषद्बाट निर्णय भएको छ, होइन त ?
ऊर्जाका अरू स्रोतबाट आपूर्ति नभएपछि मन्त्रिपरिषद्को बैठकले तापीय ऊर्जालाई विकल्पको रूपमा अगाडि सारेको हो । सरकारको सोच आफैंले थर्मलप्लान्ट राख्नेभन्दा हामीलाई आवश्यक परेको ऊर्जा निजीक्षेत्रले थर्मलप्लान्ट राखेर दिन सक्छ भने किन्ने भन्नेमा बढी केन्दि्रत थियो । हामीले चर्को लोडसेडिङको मार पुस, माघ र फागुनमा खेप्नुपर्ने देखिन्छ । यस अवधिमा हामीले अरू विकल्पलाई पनि प्रभावकारी बनाएका छौँ । यस अवधिबाहेकका महिनामा लोडसेडिङलाई उल्लेख्य मात्रामा घटाउन सकिन्छ ।

निजीक्षेत्र थर्मलप्लान्ट राख्न सहमत भयो त ?
मन्त्रिपरिषद्को निर्णयपछि हामीले धेरै अन्तर्त्रिया गर्‍यौँ । हामीलाई चाहिएको अवस्थामा थर्मलप्लान्टबाट निजीक्षेत्रले विद्युत् उपलब्ध गराउने सम्भावना निकै कम देखियो । सरकार आफैंले थर्मलप्लान्ट राख्ने निर्णय नगरेका कारण अहिले थर्मलप्लान्टबाट विद्युत् आपूर्ति हुन सक्ने अवस्था पनि छैन । राष्ट्रिय विद्युत् संकट निरूपण कार्ययोजना अघि सारेका छौँ । ३५ बुँदे निर्णय गरेका छौँ । त्यसका लागि सरकार आफैंले थर्मलप्लान्ट सञ्चालन गरेर विद्युत् वितरण सम्भव छैन ।

अहिलेको पद्धतिलाई सुधार गर्ने हो भने केही मेगावाट विद्युत् थप्न सकिन्छ, होइन ?
जलविद्युत् परियोजनाहरू बिग्रेर राम्रोसँग नचलेकोभन्दा पनि खोलामा पानीको बहाव कम भएकाले उत्पादन घटेको हो । कालीगण्डकी/मस्र्याङ्दीको कुरा गर्नुस् वा अरू परियोजनाको । अहिले कुरा गर्दा केही प्लान्ट मर्मतसम्भार गर्नुपर्ने देखिएको छ । त्यो मर्मतसम्भारको प्रक्रियालाई पनि हामीले तीव्रताका साथ अगाडि बढाएका छौँ । त्यसमा कुनै प्रकारको कमजोरी हुन नदिन सम्बन्धित निकायका पदाधिकारिलाई खटाएका छौँ । पानीको बहाव बढ्ने हो भने अहिलेको भन्दा बढी विद्युत् उत्पादन गर्न सकिन्छ । यसको तात्पर्य केही परियोजनाहरूमा मर्मत गर्नुपर्ने अवस्था नरहेको भन्ने होइन ।

पिपिएका कारण नयाँ आयोजना आउन ढिला भयो भनिन्छ नि ?
यो अत्यन्त सान्दर्भिक प्रश्न हो । पावर पर्चेज एगि्रमेन्टका सन्दर्भमा लामो समयदेखि निजीक्षेत्रको गुनासो रहेको थियो । विद्युत् प्राधिकरणले निर्धारण गरेको विद्युत् खरिदमूल्यमा परियोजना निर्माण र विकास गर्न सक्दैनौँ । त्यसले हामीलाई न्यूनतम प्रतिफल पनि दिन सक्दैन भन्ने निजीक्षेत्रबाट संगठित आवाज आइरहेको थियो । उहाँहरूको गुनासोलाई गम्भीरताका साथ लिएर विद्युत् प्राधिकरणले पिपिएको सन्दर्भमा प्रचलित व्यवस्थामा पुनरावलोकन गर्न कमिटी गठन गर्‍यो । त्यो कमिटीको सिफारिसमा हामीले पिपिएका सन्दर्भमा नयाँ निर्णय लिएका छौँ । त्यो निर्णय धेरै हिसाबले महत्त्वपूर्ण छ । पाँच मेगावाटसम्मका आयोजनालाई साना आयोजना भन्ने धारणालाई परिवर्तन गरेर १० मेगावाटसम्मका लागि साना आयोजनामा राखेका छौँ ।

त्यसो भए विद्युत् खरिदमूल्य बढेको हो ?
हामीले निजीक्षेत्रबाट विद्युत् खरिदमा दिँदै आएको दर पनि बढाएका छौँ । बर्खायाममा प्रतियुनिट चार रुपैयाँ र सुख्खायाममा सात रुपैयाँ दिने निर्णय गरेका छौँ । यो दरमा तीन प्रतिशतको स्कालेसन पनि दिने निर्णय गरेका छौँ । यो सबै हेर्दा पिपिएको प्रक्रियाले गति लिन्छ । ऊर्जा क्षेत्रमा काम गर्ने धेरैले पिपिएको प्रक्रिया झन्झटिलो भएको बताएका छन् । पिपिए गर्दा अनावश्यक समय लाग्छ र पारदर्शी पनि छैन भन्ने गुनासो छ । हामीले त्यसलाई पनि सहजीकरण गरेका छौँ ।

अझै पनि पिपिए गर्न सजिलो छैन भन्ने छ त ?
पिपिएका निम्ति वषौं कुर्नुपर्ने अवस्था थियो । आयोजना निर्माण भएर विद्युत् उत्पादन थाल्ने समयसम्मसमेत पिपिए नहुने अवस्था थियो । त्यस्तो खालको ढिलासुस्तीको अन्त्यका लागि नेपाल विद्युत् प्राधिकरणले एउटा निर्णय गरेको छ । यो निर्णयअनुसार आवेदन दिएको ९९ दिनभित्र पिपिएबारे निर्णय गरिसक्नुपर्ने व्यवस्था गरेका छौँ । नयाँ तरिकाले आयोजना सञ्चालन गर्दा परियोजना क्षमता बढ्ने र औसत लागत घट्ने निर्णयमा हामी पुगेका छौँ । पिपिएको दर बढेको छ । यो दरमा चित्त नबुझाउनेको संख्या पनि छ । यस्तो गुनासोलाई नाजायज भन्न पनि सकिँदैन । यही दरमा नयाँ योजना सञ्चालनमा जान सकिन्छ भन्ने सोच धेरैको छ । स्कालेसनका कारण पनि जलविद्युत् क्षेत्रमा लगानीको आकर्षण बढ्ने छ । यस्ता निर्णयले नयाँ परियोजनाहरू पिपिएको प्रक्रियामा आउनेछन् । यो प्रक्रियालाई विनाविलम्ब पारदर्शी रूपमा अगाडि बढाइन्छ ।

प्रसारण लाइनको समस्याले पनि विद्युत् विकासमा बाधा पुर्‍याएको छ, होइन ?
प्रसारण लाइनको क्षेत्रमा समेत हामी नाजुक अवस्थामा छौँ । विद्युत्को उत्पादन, प्रसारण र वितरण प्रणालीलाई सँगसँगै अगाडि बढाउनुपर्ने आवश्यकता छ । विचाराधीन विद्युत् ऐनमा हामीले विशेष व्यवस्था गर्न खोजेका छौँ । प्रसारण लाइन अत्यन्त गम्भीर अवस्थामा रहेको देखिन्छ । हामीसँग एउटा मात्रै दुई सय २० केभीको क्रसबोर्डर प्रसारण लाइन भएको भए लोडसेडिङको यो स्थिति आउने थिएन । विद्युत् आयात गरेर भए पनि लोडसेडिङ हटाउन सकिन्थ्यो ।

आन्तरिक रूपमा प्रसारण लाइन नबनाएर किन क्रसबोर्डर लाइन चाहियो ?
हाम्रो आवश्यकता क्रसबोर्डर ट्रान्समिसन लाइनको पनि हो । नेपाल-भारतबीच यस्तो लाइन बनाउन ढिला भइसकेको छ । यसबाट आवश्यक भएको वेलामा हामी भारतबाट विद्युत् लिन सक्छौँ । हाम्रो आफ्नै प्रसारण प्रणालीलाई व्यवस्थित गर्ने खालको ट्रान्समिसन लाइनको सञ्जाल पनि निर्माण हुन सकेको छैन । विभिन्न नदीबाट उत्पादकले उत्पादन गरेको बिजुली प्रणालीमा आधारित भएर राष्ट्रिय प्रसारण लाइनमा जोड्न सक्ने अवस्था छैन । हामीले प्रसारण लाइन निर्माणका लागि आठ अर्ब रुपैयाँ छुट्याएका छौँ । अहिले भरतपुर-हेटौंडा दुई सय २० केभीको प्रसारण लाइन निर्माणको अवस्थामा छ । अन्य प्रसारण लाइनलाई पनि हामी प्राथमिकताका साथ अगाडि बढाउँछौँ ।

लगानीमैत्री वातावरण नभएका कारण नयाँ आयोजना नआएका हुन् ?
नयाँ आयोजना अगाडि बढाउन हामीले लगानीमैत्री वातावरण निर्माणको प्रयास थालेका छौँ । क्रमशः लगानीमैत्री वातावरण बन्दै गएको छ । विदेशी लगानीकर्ताको ध्यान दुईवटा विषयमा जाने गरेको छ । उनीहरू लगानीको प्रतिफल पाइन्छ कि पाइँदैन भन्ने विषयमा निकै सचेत छन् । अर्को, काम गर्ने वातावरणको विषयमा पनि उनीहरूले उत्तिकै चासो राख्दै आएका छन् । लगानीमैत्री वातावरण निर्माणको पक्षमा अहिले सरकार लागेको छ । हाम्रो भूमिकालाई अझै प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ । शान्तिसुरक्षालाई अझ सुदृढ बनाएर लैजानुपर्ने अवस्था छ । यसो गर्न सकिए नयाँ आयोजनामा लगानी बढेर जान्छ ।

आयोजना अगाडि बढाउन नेपाल विद्युत् प्राधिकरणको क्षमतामाथि प्रश्न लाग्ने गरेको छ नि ?
मध्यमस्र्याङ्दी समय र लागतको हिसाबले हाम्रा लागि नकारात्मक मिसाइलहो । यो आयोजनालाई अनुकरणीय आयोजनाको रूपमा हेर्न सकिँदैन । यसको अनुभवबाट नसिक्ने हो भने जलस्रोतको विकास हाम्रा लागि धेरै खर्चिलो भएर जानेछ । यो आयोजनामा देखिएका कमजोरी अब दोहोरिन दिनु पनि हुँदैन । ठीक समयमा सही निर्णय लिन सक्यौँ कि सकेनौँ भन्ने विषयमा पनि हामीले निष्पक्ष भएर मूल्यांकन गर्नुपर्छ । हामीले विदेशी सहयोग र अनुदान लिँदा गम्भीर भएर सोच्नुपर्ने देखिएको छ । सहयोगको प्रतिफल अधिक रूपमा नेपालले पाउन सक्छ भन्ने कुरा सुनिश्चित नभई विदेशी सहयोग लिनुहुँदैन । सहयोग लिने विषयमा निकै होसियार हुनुपर्ने देखिएको छ । मध्यमस्र्याङ्दी होसियार नभई सुरु गरिएको एउटा आयोजना हो । यसका नकारात्मक प्रवृत्तिबाट हामी जोगिनुपर्छ ।

लाइसेन्स होल्ड भएका कारण आयोजना आउन सकेनन् भनिन्छ नि ?
विगतमा जलविद्युत् क्षेत्रमा लगानी आकर्षण थिएन । त्यतिवेला यस क्षेत्रमा लगानी आकर्षण गर्न गरिएका व्यवस्था अहिले पनि कायम छन् । मापदण्ड पूरा गरेकालाई अनुमतिपत्र दिने चलन छ । यो मापदण्ड राम्रो पनि छ । तर, मुख्य कुरा अनुमति पाएपछि निर्धारित समयमा आयोजना निर्माण भए-नभएको विषयमा अनुगमन गर्ने चलन थिएन । अहिले अनुगमनलाई प्रभावकारी रूपमा अगाडि बढाइएको छ । समयमा आयोजना निर्माण नगर्नेको अनुमतिपत्र खारेज गर्ने सोचमा हामी पुगेका छौँ । यसका लागि पारदर्शी प्रक्रिया अगाडि बढाइनेछ

लोडसेडिङ कहिलेसम्ममा हट्छ ?
सबै प्रकारका प्रयास अगाडि बढाएका छौँ । काठमाडौं उपत्यकामा भएको फोहोरबाट बिजुली उत्पादन गरेर प्राधिकरणलाई दिएमा किन्ने निर्णय गरेका छौँ । निजीक्षेत्रका उद्योगले कारखाना चलाउँदा निस्केको बिजुली किन्ने निर्णय गरेका छौँ । सौर्य ऊर्जाका उपकरणलाई ग्रामीण क्षेत्रमा दिँदै आएको छुट सहरी क्षेत्रमा पनि दिने निर्णय गरेका छौँ । हावाबाट बिजुली निकाल्ने सम्भावनालाई अगाडि बढाएका छौँ । यी सबै प्रयासका अलावा ०६८ सम्म निर्माण हुने आयोजनाले वन मन्त्रालयबाट स्वीकृति लिन नपर्ने व्यवस्था गरिएको छ । अहिले वन मन्त्रालयका कारण पनि आयोजना सञ्चालनमा विलम्ब भएको गुनासो आएकाले यसो गरेका हौँ ।

घोषणाले मात्र विद्युत् उत्पादन हुन्छ त ?
आज अगाडि बढाएका कामबाट भोलि नै लोडसेडिङ हट्छ भन्ने होइन । यसका लागि केही समय लाग्छ नै । केही नगरी बसे आज आएको अवस्थाले भोलि पनि निरन्तरता पाउँछ । त्यसकारण हाम्रा प्रयास केही वर्षमै नेपाललाई लोडसेडिङमुक्त बनाउनेतर्फ केन्दि्रत छन् । आयोजना छिटो अगाडि बढाउन इएआइए गर्नुपर्ने आयोजनालाई आइइए मात्र गरे पुग्ने व्यवस्था अगाडि बढाएका छौँ । आयोजना निर्माणका लागि रहेका झन्झटिला प्रक्रियालाई सहज गर्नेतर्फ ध्यान दिएका छौँ । विद्युत् चोरी र चुहावट नियन्त्रणमा ध्यान जान थालेको छ । कम विद्युत् खपत गर्ने चिम प्रयोगलाई अभियानका रूपमा अगाडि बढाइने छ । होर्डिङबोर्डमा विद्युत् कटौतीलगायत तत्काल गर्नुपर्ने कामदेखि दीर्घकालसम्मको सोच अगाडि सारिएकाले लोडसेडिङको समय अब घटाउँदै लैजान सकिने अवस्था आएको छ ।

Comments (0)

Photo Feature

Guest Column

    Mahakali Treaty outcome of economic nationalism

    By Hari Bansh Jha

     It was on 12 February 1996 that the the Nepalese Prime Minister Sher Bahadur Deuba and the then Indian Prime Minister P.V. Narsimha Rao signed an agreement on the integrated development of the Mahakali river in Delhi. The Pancheshwor Project under the Treaty was expected to produce 6,000 MW of hydro-power with the investment cost [...]

    Details

Interview

    No alternative to power purchase from India : Mahat

    The meeting of the Joint Commission on Water Resources is scheduled for the first week of November and is to be followed soon after by ministerial-level talks that will take up all issues relating to the setting up of the Pancheshwar Development Authority and reach a conclusion. We have informally agreed to locate PDA headquarters in Nepal

    Details

Opinoin Tank

    Pain of Losing West Seti

    By Sudheer Raj Sharma Dhakal

    The well-versed 750 MW West Seti Hydroelectric Project (WSHP) is once again capturing major energy headlines in both the print and electronic media of Nepal. Looked as a porthole for the development of the Far Western Development Region (FWDR) that has received the least development privilege, this project has been lingering for more than a [...]

    Details

Polls

  • चीन र नेपालकका यूवाहरु एक अर्काका देशमा भ्रमण गर्न पाउने सम्झौता तपाईलाई कस्तो लाग्यो ?

    View Results

    Loading ... Loading ...
Polls Archive